दफा ५६
दायित्वबाट मुक्त हुने अवस्था
देहायको अवस्थामा विनिमेय अधिकारपत्र खिच्ने, स्वीकार गर्ने वा दरपीठ गर्ने पक्ष आफ्नो दायित्वबाट मुक्त हुनेछः–
(क) स्वीकार गर्ने वा दरपीठ गर्ने पक्षलार्ई दायित्वबाट मुक्तिदिने बिचारबाट कुनै धारकले निजको नाम काटी दिएमा त्यस्तो नाम काटिएका पक्ष धारकप्रति वा निजबाट हक प्राप्त गर्ने वा खिच्ने पक्ष प्रतिको दायित्वबाट,
(ख) कुनै धारकले स्वीकार गर्ने वा दरपीठ गर्ने वा खिच्ने पक्षलार्ई दायित्वबाट मुक्त गरेको सूचना पठाएमा स्वीकार गर्ने, दरपीठ गर्ने सबै पक्ष त्यस्तो सूचना पठाउने धारक वा निजबाट हक प्राप्त गर्ने पक्षहरूप्रतिको दायित्वबाट,
(ग) लिई आउनेलार्ई भुक्तानी दिने वा साधारण दरपीठ गरिएको विनिमेय अधिकारपत्र भएमा त्यस्तो अधिकारपत्र खिच्ने, स्वीकार गर्ने वा दरपीठ गर्ने पक्षले दिनुपर्ने रकमको रीतपूर्वकको भुक्तानी दिएमा निज त्यस्तो विनिमेय अधिकारपत्रसँग सम्बन्धित सबै पक्षहरूप्रतिको दायित्वबाट ।